घटालस्थान बाबा मन्दिर डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका
वडा नं ७ मा अवस्थित छ । घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र २
गते मेला लाग्छ । त्यहाँका धामीहरूले आआफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई
म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन् । देउताको प्रभाव र शक्तिलाई कसैले
चुनौति दिए भने मूल धामी तिलकसिंह विष्टले आफूले बालुवा खानुका साथै अरु धामीलाई
पनि खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरी बालुवा
लिएर खाने गरेको विश्वास गर्दछन् । धामीहरूले पहिले-पहिले ६० घडा बालुवा र ६० घडा
पानी खाने गर्थे भन्ने किंबदन्ती स्थानीय रूपमा प्रचलित छ । मुखभरीको बालुवा
पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको
धामीहरूले दावी गर्ने गर्छन् । आफ्नो मनोकामना पुरा भएकाहरूले यहाँ बोका, राँगा, भेडा, कुखुरा जस्ता पशुपंक्षी बली दिन्छन् । किंवदन्ती
अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा
ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लग्न नसकिएपछि त्यहीं
नै घटालबाबा स्थापना गरिएको बताइन्छ । डडेल्धुरा ,डोटी
लगायतका पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पुरा गरिदिने
जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा
लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन् ।
No comments:
Post a Comment